Jagaran Nepal बिहिबार, आश्विन ०७, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी आउने दसैँमा विवाह बन्धनमा बाँधिने भएका छन् । उनले आज सञ्चारकर्मी सोनिका अर्यालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् ।

विनोद र सोनिकाको आज काठमाडौंमा इन्गेजमेन्ट भएको हो । इन्गेजमेन्ट कार्यक्रममा दुई जनाको परिवार मात्र उपस्थित थिए । नेपाली टोलीका विकेटकिपर विनोदले दसैँ टीकाको दिन विवाह गर्ने कार्यक्रम रहेको उनले बताए । दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् ।

विनोद र सोनिका विगत चार वर्षदेखी प्रेम सम्बन्धमा थिए । विनोद आईसीसी क्रिकेट विश्वकप लिग–२ मा त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेर मंगलबार मात्र ओमानबाट नेपाल फर्किएका थिए । महेन्द्रनगरका ३२ वर्षे विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए । ओमान भ्रमणमा पनि अमेरिकाविरुद्धको पहिलो खेलमा विनोदले महत्वपूर्ण ३७ रनको योगदान गरेका थिए ।

उनले १६ मार्च २०१४ मा हङकङविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । विनोदले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई अर्धशतकसहित ३१९ रन बनाइसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्धशतकसहित २२५ रन बनाइसकेका छन् ।