Jagaran Nepal सोमबार, आश्विन ०४, २०७८

घरै बसेर गरिने कामबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। यसको उदाहरण हुन् ४७ वर्षीया रेखा शर्मा चौधरी। बुढानीलकण्ठ–१, नारायणथान मन्दिरबाट केही मिटर परको घरमा ‘रिक फुड उद्योग’ को बोर्ड देख्न सकिन्छ। त्यहाँ ठूला र महँगा मेसिन छैनन्, अचार बनाउने सरसामानले भरिएको छ।

रेखाले अचार बनाउन छुट्टै ठाउँ भाडा लिएकी होइनन्, यो उनकै घर हो। उनी अकबरे, अकबरे-तामा, मिक्स (गाजर, मुला, इस्कुस, खुर्सानी, लसुन, अदुवा), मुला, मुला-अकबरे, गुन्द्रुक-भटमास, लप्सी, टिमुर, अमला, आँप, करेला लगायत विभिन्न स्वादका अचार बनाउँछिन्। अनि तोरी, रायोको गुन्द्रुक, मस्यौराका साथै अमला र लप्सीको क्यान्डी पनि यहीँ बन्छ।

आफ्नै घरमा थालेको यो काममा उनले पाँच जना सहयोगी कर्मचारी राखेकी छन्। ‘पहिले १५ जना थिए। लकडाउनमा घर गएका, आएकै छैनन्,’ उनले भनिन्, ‘अब थप्छु।’अरू व्यवसाय भए त कोरोनाका कारण चलाउन हम्मे पर्थ्यो होला। तर दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने भएकाले असर नपरेको रेखा बताउँछिन्।

उनले बनाएका अचार बेच्न बजार-बजार धाउनु पर्दैन। स्वदेशी बजारमा राम्रो व्यापार छँदैछ, विदेश पनि पुग्छ। लकडाउनमा समेत निर्यात रोकिएन। रेखाले एजेन्टमार्फत अस्ट्रेलिया, जापान, अमेरिका, हङकङ लगायत देशमा अचार र मस्यौरा पठाउँदै आएकी छन्।

‘धेरैजसो चिनेजानेका ग्राहक घरमै किन्न आउँछन्। सुपरमार्केटहरू, भाटभटेनी लगायत ठूला स्टोरमा पनि पुग्छ,’ उनले भनिन्।रेखाका अनुसार यही उद्योगबाट वार्षिक ५० देखि ६० लाख रूपैयाँको कारोबार हुन्छ। त्यसको तीस प्रतिशत उनलाई नाफा बस्छ। १६ वर्षदेखि उनले यही कमाइबाट घर खर्च चलाएकी छन्, छोराछोरी पढाएकी छन्।

२०३० सालमा दाङमा जन्मेकी रेखा तीन दाजुभाइ र तीन दिदीबहिनी भएको ठूलो परिवारकी जेठी सन्तान हुन्। परिवारको आय र खाने स्रोत खेतीपाती। एसएलसी दिएपछि आफैंले मनपराएका केटासँग बिहे गरेर उनी बर्दिया पुगिन्। श्रीमान दाल-चामल किनबेचको काम गर्थे।

त्यो बेला उनको उमेर १८ वर्ष मात्र थियो। ‘अन्तर्जातीय बिहे गरेकाले सुरूमा घर र माइती दुवैतिर चिसो सहन पर्‍यो,’ उनी सुनाउँछिन्, ‘जसोतसो १२ वर्ष बिते, सम्बन्धको चिसो न्यानो हुँदै गयो।’ तीन छोरी भइसकेपछि एकदिन रेखाको जीवन काठमाडौंतिर मोडियो। ‘गाउँमा नजिकै राम्रो स्कुल थिएन। मेरा दाजुभाइ काठमाडौं बस्ने। मैले छोरीहरूलाई काठमाडौंमै पढाउने विचार गरेँ,’ रेखाले सुनाइन्।

२०५९ साल फागुनतिर उनी तीन छोरी लिएर पहिलोपटक काठमाडौं आइन्। भाइलाई आफ्ना दुःख बिसाइन्। भाइले यहीँ केही काम गर्ने सल्लाह दिए। त्यही बेला उनको गाउँकै चिनजानका एक जनाले बुढानिलकण्ठमा रहेको मिठाइ पसल बेच्न लागेका रहेछन्। रेखाका भाइले त्यही पसल किनेर चलाउन सुझाए। उनीसँग लगानी थिएन, आँट झिकिन्।

एक-दुई महिनापछि तिर्ने भाखामा मिठाइ पसलेलाई पाँच हजार बैना दिइन्, ‘मसँग त पाँच पैसा पनि थिएन, भाइले पाँच हजार दिएको थियो।’