Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

सप्तरीको खडक नगरपालिका–३ स्थित आँपको बगैंचामा सोमबार साँझ एकाएक स्थानीयको भीड लाग्न थाल्यो । बाटो हिँड्नेहरू पनि केहीबेर टक्क रोकिन्थे र सोधखोज गरेर अघि बढ्थे । त्यही बेला बगैंचाको पूर्वी भागमा भने मासु पाकिरहेको थियो ।

न कसैको बिहे न त धार्मिक संस्कार । स्थानीय भने भोजमा जुटिरहेका थिए । भोज आयोजना गर्नुको कारण भने अनौठो छ । शोभाकान्त चौधरी पूर्वी पहाड भोजपुरको एक प्राथमिक विद्यालयमा पढाउँथे । गृहजिल्ला सप्तरी सरुवा हुन उनी एक वर्षयता भने ‘हात धोएर’ लागिपरेका थिए ।

उनले सबैजसो शक्ति लगाए पनि विद्यालय र पालिकाको सहमति पाउन नसक्दा सफल हुन सकिरहेका थिएनन् । अचानक उनले खडग–३ को गरुराहास्थित राष्ट्रिय प्राविमा एउटा दरबन्दी खाली रहेको खबर सुने । तर उक्त दरबन्दीमा आउन अरू तीन जना लबिइङ गरिरहेका रहेछन् ।

उनीहरूले विद्यालयका प्रधानाध्यापकदेखि वडाध्यक्षसम्मलाई भनसुन गर्न भ्याइसकेका थिए ।उक्त विद्यालयमा करिब ९० प्रतिशत दलित र बाँकी थारू समुदायका बालबालिका पढ्छन् । गाउँकै शिक्षक आउन चाहँदा प्रधानाध्यापक सुखैर चौधरीले सुरुमा विद्यार्थी कम भएकाले शिक्षक दरबन्दी कटौती भएको बताउँदै आएका थिए ।

स्रोतका अनुसार शोभाकान्तसहित चार शिक्षकले सरुवा भएर आउने चाहना राखेपछि प्रअ सुखैर पनि मोलमोलाइमा लागे । शोभाकान्त त चार महिनायता नै प्रयासरत थिए । अरू प्रतिस्पर्धी आइलागेपछि उनीबारे निर्णय हुन सकेको थिएन । ‘डेढ लाख रुपैयाँ बुझाए मात्र सहमति दिने प्रअबाट प्रस्ताव आएपछि उनी सहमत भए र उक्त रकम दिए,’ स्रोतले भन्यो ।

अन्य तीन जनालाई रोक्दै प्रअले शोभाकान्तलाई साउन १ देखि विद्यालयमा हाजिर हुन सहमति दिएका हुन् ।विद्यालयले सहमति दिए पनि पालिकाबाट अनुमति लिनुपर्ने बाध्यता शिक्षक शोभाकान्तसामु आइलाग्यो । नगरपालिकामा पनि उनी लबिइङका लागि लामो समय धाइरहे ।

आर्थिक कारोबार मिलाएपछि नगरपालिकाले उनलाई साउन २७ गते सहमति दिएको नगरपालिका स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत निरज देवले भने कुनै आर्थिक चलखेल नभएको दाबी गरे । ‘नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट सहमति लिएको २७ दिनपछि आर्थिक लाभ लिएर उनलाई विद्यालयमा हाजिर हुन सहमति दिएको हो,’ स्रोतले भन्यो ।

पालिकाबाट समेत सहमति लिइसकेपछि शोभाकान्तले शिक्षा समन्वय इकाइ सप्तरीमा पनि ‘घूस खुवाएको’ स्थानीयको दाबी छ ।शिक्षक शोभाकान्त भदौ १ गते विद्यालयमा हाजिर भएपछि स्थानीयले विरोध जनाए । दरबन्दी नै नभएको ठाउँमा कसरी हाजिर गराइयो भनेर उनीहरूले प्रश्न उठाए ।

त्यसपछि विद्यालय प्रशासनले स्थानीय बासिन्दासमेतलाई सहभागी गराएर बैठक राख्यो । ‘बैठकमै शोभाकान्तले आफूले विद्यालयलाई डेढ लाख दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रूपमा काम गर्ने वातावरण मिलाइदिन हामीसँग आग्रह गरेका थिए,’ एक स्थानीयले भने ।

उनका अनुसार विद्यालय प्रशासनलाई किन घूस दिएको भन्दै स्थानीयले बैठकमै विरोध गरेका थिए । स्थानीयको आक्रोश मत्थर पार्न प्रअ सुखैरले शिक्षक शोभाकान्तको हाजिर सुरु भइसकेको भन्दै कामकाज गर्न दिन आग्रह गरे । यसबापत शोभाकान्तले स्थानीयलाई भोज खुवाउनुपर्ने सहमति त्यहीं बन्यो ।कान्तिपुर