Jagaran Nepal शनिबार, आश्विन ०२, २०७८

काठमाडौ ।संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउडमा काम गर्न पाउनु पनि विश्वभरका कलाकारले आफुलाई सफल मान्छन् । केही नेपाली कलाकारहरुले पनि त्यो सफलता प्राप्त गरेका छन् । कलाकारीताको कुनै सिमाना हुँदैन त्यसैले भारतीयझैँ नेपाली कलाकारका लागि पनि बलिउड सपना हो ।

एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएकी छन् । देशसँगै विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय फैलाइसकेकी पुनम यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेकी हुन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् । अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिइन् ।

उनले आफुले बनाउने ठूलो वजेटको बलिउड फिल्ममा नेपाली कलाकारलाई पनि अवसर दिने बताएकी छन् । पुनम बलिउडसँगै नेपाली फिल्म निर्माणको तयारीमा समेत रहेकी छन् । उनको पहिलो नेपाली फिल्मलाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ । दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ । इबादत’ गीतलाई दर्शकले रुचाएपछि पुनमले अर्को पनि हिन्दी गीत निर्माण गरेकी छन् ।