Jagaran Nepal मंगलबार, भाद्र २९, २०७८

अमेरिका, सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् ।

खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए । ४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए । कतिले विवाह’मा कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन् ।

नवविवाहित जोडीलाई यो कुराले निकै रुष्ट बनायो तसर्थ अनुपस्थितहरु’को खानाको बिल बनाउने निधो गरे । फेसबुकमा पोस्ट गरिएको एक बिलको नमूना अनुसार विवाहमा सरिक नभएका एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ ।

‘यहाँ तोकिएको रकम तपाईंहरुको व्यक्तिगत सीटका लागि हो । किनभने तपाईंहरुले आफ्नो अनुपस्थितिका लागि न त फोन गर्नुभयो न उचित सूचना प्रदान गर्नुभयो । यो रकम हामीले तपाईंको सीटका लागि गरेको अग्रिम भुक्तानी हो । तपाईंहरुले हामीलाई जेले र पेपालमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ । तपाईंहरुलाई के सहज हुन्छ, त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला, धन्यवाद,’ उक्त बिलमा भनिएको छ ।

यो बिल फेसबुकमा पोस्ट गर्दै डो साइमन्सले लेखे, ‘तपाईंले यस्तो बिल पाउनु भयो भने अपमानित महसुस नगर्नुहोस् । मैले यो बिल इमेलमार्फत् पठाउनेछु । ’ अडिटीसेन्ट्रल अनुुसार सानो व्यवसायका सञ्चालक साइमन्सले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘हामीले चारपटक सम्म पनि सोध्यौं, ‘तपाईंहरु आउनुहुन्छ नि, आउन सक्नुहुन्छ नि ?’ उहाँहरुले आउँछौं भनिरहनु भयो ।

हामीले जमाइकाका लागि अग्रिम भुक्तानी गर्नुपर्यो । यो एक डेस्टिनेसन वेडिङ थियो । ’ ‘कसैले पनि ‘हेर हामी त आउन सक्दैनौं’ भनेर केही भनेनन्, न एउटा मेसेज नै छोडे । हामीले त्यति मात्रै चाहेका थियौं । केही नभन्ने अनि विवाहमा पनि नआउँदा, हामीले उनीहरु र उनीहरुको पार्टनरका लागि पनि भुक्तानी गर्नुपर्यो ।

चारजना आठजना हुन्छन् र मैले यसलाई नीजि रुपमा लिएँ ।’ यो रोचक बिलले सोसल मिडियामा मानिसलाई दुई समूह बाँड्यो । कतिले उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन् । साइमन्सले पछि आफ्नो फेसबुकमा यस्तै समस्यासँग जुध्ने धेरैले आफूलाई समर्थन गरेको र आफ्नो भयानक अनुभव साझा गरेको पनि जानकारी दिए ।