Jagaran Nepal आइतबार, भाद्र १३, २०७८

काठमाडौ । पहिचान नभएको तरकारी खाँदा पाँचथरमा एकजनाको मृत्यु भएको छ ।

सिकिस्त विरामी भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–४ का लक्ष्मी नेम्बाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

गत हप्ता एकै परिवारका घरमुली नेम्बाङसहित सात जनाले उक्त तरकारी खाँदा बेहोस हुने, बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरीएको थियो ।

परिवारका अन्य छ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । उक्त तरकारी मानवका लागि खानका योग्य नभएका कारण मृत्यु भएको बुझिएको छ ।

कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ ।

यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ ।

कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताउनुभयो ।

उहाँले भन्नुभयो,“कोभिड—१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौँैँ ।

कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ । त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यताअनुसार खर्च गर्न सक्ने भएकाले नगद प्रदान गर्ने निर्णय गरिएको हो ।”

गाउँपालिकामा सक्रिय कोभिड सङ्क्रमित ३३ जना रहेको र १० जना निको भइसकेको स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले बताउनुभो । कोभिड सङ्क्रमणबाट एकको मृत्यु भएको छ ।