Jagaran Nepal शुक्रबार, भाद्र ११, २०७८

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्मका लागि दरखास्त आह्वान गरेको छ ।सशस्त्रले एक सूचना प्रकाशित गर्दै आगामी असोज १० गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

सूचनाअनुसार सशस्त्रले विभिन्न पदमा गरी १ हजार ९५ जनाको दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार ७५ इन्स्पेक्टर, असई १७३, जवान ७५५ र परिचर १२८ जनाको विज्ञापन प्रकाशित गरेको छ ।परिचरतर्फ, भान्छे, कपाल काट्ने, कूचीकार, सूचीकार, चर्मकर्मी र मालीको माग गरिएको जनाइएको छ ।

इन्स्पेक्टरलाई २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको स्नातक तह उत्तीर्ण गरेको उम्मेदवार हुनुपर्ने जनाइएको छ भने असईका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको प्लस २ पास गरेको व्यक्ति हुनुपर्ने जनाइएको छ । त्यस्तै जवानका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको ८ कक्षा पढेको व्यक्तिले आवेदन दिन पाउने सूचनामा उल्लेख गरिएको छ ।

थप समाचार – को-भि’ड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।

‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ। अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ। विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।

उनकाअनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुने बोर्डको भनाइ छ।‘कक्षा १० सम्म सञ्चालन भएका देशभरि ११ हजार ६ सय विद्यालय छन्।

कक्षा १२ सञ्चालन भएका ४ हजार ३१५ विद्यालय छन्,’ सदस्य सचिव अर्यालले भने, ‘कक्षा १२ का धेरै विद्यार्थी भएकाले बोर्डले कक्षा १० र १२ सञ्चालन भएका सबै विद्यालयलाई परीक्षा केन्द्र बनाउने तयारी गरेको छ।’ स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिने बोर्डको भनाइ छ। गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा को’रोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको व्यवस्था गरि परीक्षा सञ्चलानको तयारीमा जुटेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए। उनले बिहीबार स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा कक्षा १२ का सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिए।यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।